काठमाडौं– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ स्थित चेरेम गाउँमुनि ठूलो पहिरो खस्दा इङ्खु नदीको बहाव अवरुद्ध भएको छ। पहिरोले नदी थुनिएपछि अस्थायी बाँध बनेको छ। उक्त बाँध कुनै पनि बेला फुट्न सक्ने जोखिम रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको खतरा बढेको छ।
जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले इङ्खु नदी, दूधकोशी र सप्तकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सोलुखुम्बुका प्रदेशसभा सदस्य गोम्बु शेर्पाका अनुसार चेरेम गाउँमुनि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण इङ्खु नदीको बहाव रोकिएपछि नदीमा अस्थायी बाँध बनेको हो।
मन्त्री शेर्पाले अस्थायी बाँध जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन्।
उनका अनुसार हालको अवस्थालाई हेर्दा तत्काल ठूलो जोखिम देखिएको छैन। तर, त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने सम्भावना छ। थप पहिरो खसेर अस्थायी बाँधमा पानीको चाप बढेमा बाँध फुट्न सक्ने र त्यसपछि नदीमा पानीको सतह एक्कासि बढ्न सक्ने जोखिम रहेको छ।
बाँध फुटेमा इङ्खु नदी हुँदै दूधकोशी र सप्तकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई नदीको बहाव र पानीको सतहमा हुने परिवर्तनबारे सचेत रहन आग्रह गरिएको छ।
सम्भावित जोखिमबाट जोगिन नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।