हुम्ला । हुम्लाको उत्तरी सीमा नाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिमपातका कारण हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएका हुन् ।
अध्यागमन अधिकृत विमल पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का स्थानीय छन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू त्यसपछि हिमपात सुरु भएपछि नाकामै रोकिएका हुन् ।
हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले समेत आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार आगामी अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका पुनः सञ्चालनमा आउने जानकारी दिइएको छ ।
हिल्सा पुग्ने सडक खुलाउन कठिन
चीनतर्फ सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फको सडक सञ्चालनमा ल्याउन अझै समय लाग्ने बताइएको छ । हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ ।
हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन थप समय लाग्ने उनको भनाइ छ । हिल्सामा एउटा मात्रै स्काभेटर रहेकाले सडक खुलाउने काममा कठिनाइ भएको तथा इन्धनको समेत समस्या रहेको साउदले बताए ।
स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाउँदै सडक सञ्चालनमा ल्याउने प्रयास जारी राखेका छन् ।
६ हजार १० जनाले गरे कैलाश मानसरोवर दर्शन
यस वर्ष हालसम्म हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन् । अध्यागमन अधिकृत पौडेलका अनुसार दर्शनका लागि आउने पर्यटकमध्ये अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपालका नागरिक रहेका छन् ।
कैलाश मानसरोवर दर्शनको मुख्य सिजन सकिनै लागेका बेला भएको भारी हिमपातले हिल्सा नाकाको आवतजावत प्रभावित हुनुका साथै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवनमा समेत असर परेको छ ।