काठमाडौं– बाढीका कारण क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोज महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत तथा पुनर्निर्माणको काम भइरहेको छ । सडक विभागका अनुसार अधिकांश स्थानमा मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ भने अवरुद्ध खण्डमा काम तीव्र पारिएको छ ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले गल्छीदेखि स्याफ्रुबेँसीसम्मको सडक दशैँसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । उनका अनुसार धादिङ र नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको छ । उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको र निर्माण व्यवसायीले काम सुरु गरिसकेको छ ।
त्यस्तै, सडकको रातोमाटे क्षेत्रमा बाढीले करिब २०० मिटर सडक कटान गरेकोमा ‘ब्याक कटिङ’ गरेर यातायात सञ्चालनमा ल्याइएको छ । नुवाकोटको देवीघाटमा नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्मको सडकमा पनि यातायात सञ्चालन भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्मको करिब १० किलोमिटर सडकखण्डमध्ये नौ किलोमिटर खुलिसकेको छ । बाँकी करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ ।
उक्त अवरुद्ध क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरेर दुवैतर्फबाट सडकको ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ । केही दिनभित्रै उक्त खण्डमा पनि यातायात सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
विदुर–बेत्रावती खण्ड खुलेपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान गर्नुपर्नेछ । ती दुवै स्थानमा पुल जडान सम्पन्न भएपछि गल्छीदेखि स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन गर्न सकिने विभागको भनाइ छ ।
महानिर्देशक जैसीका अनुसार रसुवाको बेत्रावतीमा पुरानो पुल रहेकै स्थानमा बेलीब्रिज जडान गरिनेछ । त्यसका लागि पुरानो फाउन्डेसन फेला परेको छ । फाउन्डेसन मर्मतको काम सम्पन्न भएपछि बेलीब्रिज जडान गरिने उनले बताए ।
“यसका लागि पहिले विदुर–बेत्रावतीमा सडक निर्माण हुनुपर्नेछ”, जैसीले भने । उक्त स्थानमा नेपाली सेनासँग उपलब्ध ७२ मिटर लामो बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ ।
बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकमा अन्य समस्या नरहेको विभागले जनाएको छ । तर, स्याफ्रुबेँसीमा भने थप एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ । त्यहाँ ७६ मिटर लामो बेलीब्रिज जडान गर्ने गरी डिजाइनको काम सुरु गरिएको छ ।
विभागका अनुसार स्याफ्रुबेँसीमा करिब ९० मिटर लामो पुल आवश्यक पर्ने भए पनि उपलब्ध संरचनालाई ध्यानमा राख्दै ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको हो ।
यसैबीच, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित भएको छ । उक्त खण्डको पुनर्निर्माणका लागि सर्भेक्षण सुरु भइसकेको विभागले जनाएको छ ।
बाढीले क्षति पुर्याएको मुग्लिन–गल्छी सडकखण्डअन्तर्गत कृष्णभीरमा भने नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भई दुईतर्फी यातायात सञ्चालनमा आइसकेको छ ।