काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ठूला पूर्वाधार परियोजनामा विदेशी लगानीकर्तासँगै स्वदेशी निजी क्षेत्र र निर्माण कम्पनीलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा साझेदारीमा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।
विदेशी कम्पनीसँगको सहकार्यले नेपाली निर्माण व्यवसायीको क्षमता, प्रविधि र दक्षता अभिवृद्धि हुनुका साथै भविष्यमा ठूला पूर्वाधार परियोजना आफैँ निर्माण गर्न सक्ने आधार तयार हुने श्रेष्ठले बताए । उनले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै विदेशी कम्पनीसँगको साझेदारीमा काम गर्ने अवसर पाएकै कारण भारतीय निर्माण कम्पनीहरू अहिले आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको उल्लेख गरे । नेपालमा सुरुङ निर्माणका क्षेत्रमा पनि विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरको क्षमता विकासमा सहयोग पुगेको उनको भनाइ थियो ।
नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै श्रेष्ठले कमजोर पूर्वाधारका कारण व्यवसायको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता प्रभावित हुने बताए । भन्सारमा सामान छुटाउन लाग्ने समयदेखि देशको पूर्वदेखि पश्चिमसम्मको यात्रा अवधिले समेत अर्थतन्त्रको प्रभावकारिता निर्धारण गर्ने उनको भनाइ थियो ।
उनले भारतमा दिल्लीबाट जम्मु पाँच घण्टा र चण्डीगढ दुई घण्टामा पुग्न सकिने उदाहरण दिँदै पूर्वाधार विकासले आर्थिक गतिविधिलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
श्रेष्ठले नेपाल पूर्वाधार सम्मेलनको स्वामित्व सरकारले लिएर अघि बढाएकोमा स्वागत गर्दै निजी क्षेत्रका तर्फबाट आभार व्यक्त गरे । यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गर्दै आएको सम्मेलनलाई सरकारले समेत अग्रसरता लिएर अघि बढाउनु सकारात्मक भएको उनले बताए ।
लगानी सम्मेलनमा विदेशी लगानीकर्तासमक्ष परियोजना प्रस्तुत गर्नुअघि पर्याप्त अध्ययन र तयारी गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले लगानीयोग्य, व्यावहारिक र कार्यान्वयन गर्न सकिने परियोजना पहिचान गर्नुपर्ने बताए । परियोजनाको सम्भाव्यता र व्यावसायिक उपयोगितामा ध्यान दिएर मात्रै लगानीकर्तासमक्ष प्रस्ताव लैजानुपर्ने उनको भनाइ थियो ।