काठमाडौँ– दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाको अवसरमा आज काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।
वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेहरू पुगेर पूजा, दर्शन तथा टीका लगाउने परम्परा छ। उनीहरूले मन्दिरमा पूजाआजा गरी टीका लगाएर भाइटीका पर्व मनाउने गर्छन्।
ऐतिहासिक शिलालेखअनुसार राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरी निर्माण गरिएको हो। पोखरीको बीच भागमा त्यसैबेला बालगोपालेश्वर मन्दिर पनि स्थापना गरिएको थियो।
जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा पनि टीका
यसैगरी, काठमाडौँको जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूले भाइटीकाका दिन पूजा, दर्शन गरी टीका लगाउने परम्परा छ।
वि.सं. २०३५ सालअघि रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर प्रवेश गर्न पोखरीमा हामफाल्ने समस्या देखिएपछि मन्दिर बन्द गरिने गरिएको थियो। त्यस समयमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीहरू टीका लगाउन जयबागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गर्दथे।
पछिल्लो समय भक्तजनको सङ्ख्या पहिलेको तुलनामा केही कम भए पनि भाइटीकाका दिन उक्त मन्दिरमा टीका लगाउन आउनेहरूको भीड लाग्ने गरेको छ।