काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। त्यस्तै, अन्य हिमाली क्षेत्र, पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। मधेस र कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।