काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिपछिको पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेट सीमाभित्रै रहेर खर्चको पुनःप्राथमिकीकरण गरी पुनर्निर्माणको काम अघि बढाउने उनको भनाइ छ।
शुक्रबार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा अर्थमन्त्री वाग्लेले विपद्बाट भएको भौतिक तथा आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १० प्रतिशत बराबर रहेको जानकारी दिए। भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोले मात्रै २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति पुर्याएको उनले बताए।
पाँच दिनभित्र गरिएको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) र विश्व बैंकको विधिअनुसार पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने देखिएको उनले जानकारी दिए। ‘बिल्डिङ ब्याक बेटर’ अर्थात् विपद्पछिको पुनर्निर्माणलाई थप सुरक्षित र समृद्ध पूर्वाधार निर्माणको अवसरका रूपमा उपयोग गर्ने सरकारको योजना रहेको उनले बताए।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित १८ अर्ब रुपैयाँलाई सरकारप्रति जनताको उच्च विश्वासको प्रतीकका रूपमा अर्थमन्त्री वाग्लेले व्याख्या गरे। उक्त रकम जथाभावी वितरण नगरी कार्यविधि र आवश्यकताका आधारमा पूर्वाधार पुनर्निर्माण तथा कृषि क्षेत्रको राहतमा केन्द्रित गरिने उनले स्पष्ट पारे।
‘यो सित्तैमा आएको पैसा होइन,’ वाग्लेले भने, ‘यसको मर्मअनुसार अन्य विपद्का लागि समेत बचत गर्दै पूर्वाधार र कृषि क्षेत्रको राहतमा केन्द्रित गर्ने योजनामा छौँ।’
बजेट व्यवस्थापनका लागि चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट सीमा नाघेर पूरक बजेट ल्याउने सरकारको तयारी नरहेको उनले बताए। मौजुदा बजेटबाटै खर्चको पुनःप्राथिकीकरण गरी पुनर्निर्माणका काम अघि बढाइने उनको भनाइ छ।
पुनर्निर्माणको जिम्मेवारी पूर्वाधार मन्त्रालयलाई दिने र आवश्यकताअनुसार आगामी आर्थिक वर्षको बजेटमा समेत यसलाई प्राथमिकताका साथ समावेश गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए।