काठमाडौं। नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको टिप्पणी गरेका छन्। ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी प्रवृत्ति देखाएको उनको दाबी छ।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा आइतबार बोल्दै ज्ञवालीले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रियता र नागरिकले उपभोग गर्दै आएको लोकतान्त्रिक खुलापन गम्भीर संकटमा परेको बताए।
“देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ,” ज्ञवालीले भने, “गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् कि यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ।”
राष्ट्रपति संस्था, संसद, आफ्नै दल, न्यायालय तथा सञ्चारमाध्यमलगायतका संस्थालाई समेत बेवास्ता गर्दै सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप उनले लगाए।
“मिडियालगायत यी सबै संस्थालाई किनार लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ,” उनले भने।
भर्खरै सम्पन्न निर्वाचनबाट सरकारले झन्डै दुईतिहाइ जनादेश पाएको उल्लेख गर्दै ज्ञवालीले संसदभित्र सरकारको स्वेच्छाचारिता रोक्ने बलियो विकल्प नरहेको बताए। यही शक्ति सन्तुलनका कारण सरकारले भविष्यमा संविधानमा प्रतिगामी संशोधन गर्न खोजे त्यसलाई रोक्न कठिन हुन सक्ने उनको चिन्ता छ।
राष्ट्रिय सभाले केही हदसम्म सन्तुलन कायम गर्न सक्ने भए पनि प्रतिनिधिसभामा संविधान निर्माणका पक्षधर शक्तिको उपस्थिति कमजोर रहेको उनले बताए। संसदभित्र लोकतान्त्रिक शक्तिको कमजोर उपस्थितिले सरकारमाथि प्रभावकारी नियन्त्रण र सन्तुलन कायम गर्ने चुनौती बढाएको उनको भनाइ छ।