सुर्खेत– सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। मंगलबार बिहान करिब १०ः३० बजे कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी अनियन्त्रित भई सडकमा पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ।
तीन जनाको अवस्था मध्यम
दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन्।
प्रहरीका अनुसार तीनै जनाको टाउको र हातमा चोट लागेको छ। घाइते तिमल्सिनालाई थप उपचारका लागि बिहान ११ः३० बजे सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा रिफर गरिएको छ।
छ जनाको अवस्था सामान्य
दुर्घटनामा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा र २० वर्षीया शारदा टमटा घाइते भएका छन्।
त्यसैगरी, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्।
प्रहरीका अनुसार समिरको टाउको र हातमा, बिर्खको हातमा, शारदा र शान्तिको टाउकोमा तथा निरज र धिराजको हातमा चोट लागेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको छ।
अन्य १० जना सकुशल
दुर्घटनाग्रस्त गाडीमा सवार अन्य १० जना यात्रु बालबालिकासहित सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
चालक फरार, खोजी जारी
प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सालकोटबाट दुई जना र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी नायब निरीक्षक बुद्धिसागर चौधरीको कमान्डमा ट्राफिकसहित छ जनाको टोली घटनास्थलमा खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।