भक्तपुर । विजयादशमीका अवसरमा भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने प्रसिद्ध ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ। धिमेबाजासहित भक्तजन मध्यरातदेखि नै मन्दिर पुग्न थालेका हुन्।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा विजयादशमीका दिन त्रिपुरासुन्दरी प्रकट हुने जनविश्वास छ। यही विश्वासका आधारमा हरेक वर्ष यहाँ भव्य मेला लाग्ने गर्छ।
जात्राका क्रममा व्रतालुहरू घरदेखि मन्दिरसम्म घस्रिँदै वा पल्टिँदै पुग्ने र शरीरमा पाँच, सात वा १८ वटा दियो बालेर पूजा गर्ने परम्परा छ। यसरी यात्रा गर्दा मनोकामना पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ।
नेवार समुदायमा विजयादशमीका दिन मोहनी नखः मनाउँदै घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजासामग्री लिएर ब्रह्मायणी मन्दिर जाने चलन छ। मन्दिरमा दिनभरि नै मेला लाग्ने गर्छ। भक्तजनले जमरा चढाउनुका साथै हाँस, बोका र भालेको बलिसमेत दिने गर्छन्।
ब्रह्मायणीमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायत काभ्रे, ललितपुर तथा काठमाडौंका भक्तजन पुग्छन्।
गाँठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय (राँगो) लाई मंगलबार साँझ जाँड खुवाएर मत्ताएपछि अबिर र तेल दली दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्याइएको थियो। त्यहाँ खःमेयको बध गरिएसँगै रातिदेखि जात्रा सुरु भएको हो।