काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले अब कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ थेग्न नसक्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्ष सरकार चलाउने जनादेश पाएकाले उसलाई काम गर्ने अवसर दिनुपर्ने उनको भनाइ छ ।
बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा थापाले पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरी आफूहरू तयारीमा लाग्ने बताए । उनले विगतका दलले गरेका गल्ती र भोगेका संकटबाट नयाँ राजनीतिक शक्तिले पनि सिक्नुपर्ने बताए ।
‘नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुस् । नेपालले थेग्न सक्दैन,’ उनले भने ।
विगतमा कांग्रेस–एमालेले जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको थापाले बताए । दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनको भनाइ छ ।
‘हामी एकैपटक माथि मात्रै हेर्यौँ, हामीसँग पाएको शक्ति, प्रतिष्ठा मात्रै हेर्यौँ, त्यसले हामीलाई ठिक ठाउँमा पुर्याउन सक्दैन,’ उनले भने । विगतको सिकाइबाट आफूहरूलाई सच्याउँदै अघि बढ्ने उनले बताए ।
रास्वपाले पाँच वर्ष सरकार चलाएपछि कांग्रेस नयाँ सोच र चिन्तनका साथ जनतामाझ जाने थापाले बताए । ‘हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउने,’ उनले भने ।
लोकतन्त्रमा जनताको निरन्तर समर्थन र नैतिक नेतृत्व महत्वपूर्ण हुने थापाले बताए । सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनको भनाइ छ । कानुनसम्मत हुँदैमा कुनै निर्णय जनभावनाअनुकूल हुन्छ भन्ने नभएकाले जनताको भावना र निर्णयको औचित्यलाई समेत ध्यान दिनुपर्ने उनले बताए ।
थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति पनि प्रश्न उठाए । सांसदले संसद्मा बोल्ने हरेक शब्द र गर्ने निर्णयप्रति गम्भीर हुनुपर्ने भन्दै उनले अहिले ‘जे मन लाग्यो त्यही बोल्ने’ प्रवृत्ति देखिएको बताए ।
‘यो संसद् हो यो ? संसद्को गरिमा हुन्न ? संसद्को मर्यादा हुन्न ?’ उनले प्रश्न गरे ।
संसद्, सरकार, अदालत र संवैधानिक निकायमा जिम्मेवारी पाएका सबैले आफ्नो अधिकार कानुनअनुसार प्रयोग गर्नुपर्ने मात्र नभई जनभावना र औचित्यलाई समेत ध्यान दिनुपर्ने थापाले बताए । जनताको भावना विपरीत जाने छुट कसैलाई नरहेको उनको भनाइ छ ।