पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आयोजना, कानुनी जटिलता तथा सीमा क्षेत्रको पूर्वाधार विकासलगायत नौ विषयमा संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरे। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब आठ किलोमिटर सडकखण्ड निर्माणका लागि संघीय तहबाट आवश्यक समन्वय र सहजीकरण हुनुपर्ने उनले बताए।
भेटका क्रममा पाण्डेले गण्डकीमा प्रस्तावित लोकाहाखोला र पुँडीटार औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। त्यस्तै, मनाङ, मुस्ताङ र गोरखाको उत्तरी क्षेत्रमा पर्ने जग्गाको नापी तथा दर्ताको व्यवस्था मिलाउनुपर्ने विषयसमेत उनले उठाए।
मुख्यमन्त्री पाण्डेले अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रअन्तर्गतका वन क्षेत्र प्रदेश सरकारको मातहतमा ल्याउने व्यवस्था गर्नुपर्ने माग राखे। साथै, ती संरक्षण क्षेत्रभित्र रहेका नदीजन्य पदार्थ—ढुंगा, गिट्टी र बालुवा—को संकलन, व्यवस्थापन तथा उपयोग गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने उनले बताए।
यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ मा आवश्यक संशोधन गर्नुपर्ने विषय पनि मुख्यमन्त्री पाण्डेले प्रधानमन्त्रीसमक्ष राखेका छन्।