काठमाडौँ । नेपाली काँग्रेस बाराको कार्यवाहक सभापतिको जिम्मेवारी मनोज भट्टले पाएका छन्। पार्टीले यसअघि जिल्ला सभापति रहेका राजेशराय यादवलाई अनुशासनसम्बन्धी कारबाही गर्दै निलम्बन गरेपछि भट्टलाई उक्त जिम्मेवारी दिइएको हो।
भट्ट यसअघि नेपाली काँग्रेस बारा जिल्ला कार्यसमितिको उपसभापतिको भूमिकामा थिए। जिल्ला नेतृत्वमा देखिएको रिक्तता पूर्ति गर्दै संगठनका नियमित गतिविधि सञ्चालन गर्न उनलाई कार्यवाहक सभापति तोकिएको पार्टीले जनाएको छ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा यादवसहित बाराका १६ जनाविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा काँग्रेसको अनुशासन समितिले छानबिन प्रक्रिया अघि बढाएको थियो।
अनुशासन समितिले यादवसँग स्पष्टीकरण माग गरेको थियो। तोकिएको समयभित्र जवाफ नआएपछि पुनः स्पष्टीकरण माग गरिएको भए पनि उनले प्रतिक्रिया नदिएपछि थप अध्ययन र प्रक्रियागत निर्णयका आधारमा निलम्बन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।
अब कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका भट्टले नेपाली काँग्रेस बाराको संगठन विस्तार, नियमित गतिविधि र पार्टीका अन्य कार्यहरूलाई निरन्तरता दिनेछन्।