काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र साहसँग आफू र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक रूपमा कमजोर पार्ने हैसियत नरहेको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफू र माधवकुमार नेपाललाई राजनीतिक रूपमा कमजोर पार्ने प्रयासमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढी सक्रिय रहेको दाबी गरे। प्रधानमन्त्री शाह त्यस स्तरमा नरहेको उनको भनाइ थियो।
दाहालले आफूहरूले कुनै गैरकानुनी काम गरेको भए ओली नेतृत्वको सरकारले नै कारबाही गरिसक्ने जिकिर गरे। आफू र माधवकुमार नेपाललाई फसाउन तथा राजनीतिक रूपमा समाप्त पार्ने उद्देश्यले ओलीले सबै शक्ति प्रयोग गरेको आरोप पनि उनले लगाए।
उनले भने, “…माधवजी र मलाई फसाउने र सिध्याउने कुरामा केपी ओलीले सबै शक्ति लगाए। त्यो हिसाबले हेर्दा केपी ओलीको हैसियतमा बालेनजी छैनन्।”
दाहालले वामपन्थी आन्दोलनलाई बलियो बनाउन आफूहरू अझै पनि कम्युनिष्ट शक्तिबीच सहकार्यको पक्षमा रहेको बताए। त्यसलाई आफ्नो जिम्मेवारीबोध र राजनीतिक उदारताको रूपमा बुझ्न उनले आग्रह गरे।
दाहालले पार्टीका सहसंयोजक माधवकुमार नेपालमाथि अघिल्लो सरकारले मुद्दा दायर गरेको र आफ्नो नाममा दुबईमा १४० अर्ब रुपैयाँ रहेको भन्दै भ्रम फैलाइएको दाबी गर्दै त्यसप्रति असन्तुष्टि जनाए।