काठमाडौँ । अब्बास अराघची र वाङ यी बीच सोमबार टेलिफोनमार्फत संवाद भएको छ। वार्ताका क्रममा इरानमा कार्यरत चिनियाँ नागरिक तथा त्यहाँ सक्रिय संस्थाहरूको सुरक्षाको विषयमा विशेष रूपमा छलफल भएको जनाइएको छ।
इरानी विदेश मन्त्री अराघचीले आफ्नो मुलुकमा रहेका चिनियाँ नागरिक र संस्थाको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, पछिल्ला घटनाक्रमबारे धारणा राख्दै इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायल ले आकस्मिक सैन्य आक्रमण आरम्भ गरेको दाबी गरिएको छ। उक्त अवस्थालाई युद्धको घोषणासरह मान्दै इरानले राष्ट्रिय हित र सुरक्षाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको स्पष्ट पारेको उल्लेख छ।
यसै क्रममा ओमान का विदेश मन्त्रीले अमेरिका-इरानबीच शान्ति समझदारी निकट पुगेको सार्वजनिक अभिव्यक्ति दिएको केही समयमै सैन्य गतिविधि सुरु भएको प्रसंगसमेत उठाइएको बताइएको छ। इरानी पक्षले कूटनीतिक संवाद जारी रहेकै अवस्थामा वासिङ्टनबाट युद्ध आरम्भ गरिएको आरोपसमेत लगाएको छ।
जवाफमा चिनियाँ विदेश मन्त्री वाङ यीले इरानसँगको परम्परागत मैत्री सम्बन्धलाई महत्व दिँदै त्यस देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणप्रति समर्थन जनाएका छन्। साथै, चीनले सम्बन्धित पक्षलाई तत्काल सैन्य कारबाही रोक्न र द्वन्द्वलाई व्यापक क्षेत्रीय अस्थिरतामा रूपान्तरण हुन नदिन संयमता अपनाउन आग्रह गरेको जानकारी दिइएको छ।