कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।
काम छ भन्दै एकान्तमा बोलाएर जबरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख छ । ती बालिका अन्य साथीहरूसँग सुखड बजारको हेलिप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकालाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको देखेपछि प्रहरीले उपचारका लागि अस्पताल लगेको प्रनाउ शाहीले जानकारी दिए ।
शाहीले केटिएम दैनिकसँग भने, ‘भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्,’ उनले भने, ‘रातीको २ बजेतिर उनको होस खुल्यो, त्यसपछि हामीले आफन्तको जिम्मा लगायौं।’
ती बालिकालाई लठ्याउने औषधि खुवाइएको हुनसक्ने डिएसपी शाहीले बताए । जाहेरीमा एकजना चिनेको व्यक्तिले बोलाएपछि गएको र सो घटना भएको उल्लेख छ ।
बलात्कृत बालिकाले आज (शुक्रबार) बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । एकजना पक्राउ गर्न बाँकी रहेकाले पक्राउ गरेका व्यक्तिहरूको पहिचान नखुल्याइएको उनले बताए ।
यस समाचारमा प्रयोग गरिएको तस्विर एक प्रतिनिधिमूलक तस्विर मात्र हो । सम्पादक