श्रीमानले आफूमाथि बारम्बार बलात्कार गरेको भन्दै रुपन्देही जिल्लाको एक नगरपालिकाको उपमेयरकी बुहारीले आफ्नो पतिबिरुद्ध जाहेरी दिएकी छिन् ।
इलाका प्रहरी कार्यालय बुटवलमा आज ३० वर्षीया एक महिलाले आफ्नो पतिविरुद्ध बैवाहिक बलात्कारमा जाहेरी दिएकी हुन् । ती महिला नातामा सोही जिल्लाको एक स्थानीय तह उपप्रमुखको बुहारी पर्छिन् ।
केटिएम दैनिकलाई प्राप्त तीन पेज लामो जाहेरी पत्रमा विगत ६ महिना देखि पतिले मादक पदार्थ तथा लागु औषध सेवन गरी आफूलाई गाली गलौज गर्ने, कुटपिट गर्ने गरेको पीडित महिलाले बताएकी छिन् ।
उनले भनेकी छिन् ‘पतीले रातीमा तथा दिनमा समेत अनेकौ बहाना बाजी गर्दै मलाई शारिरीक एवं मानसिक यातनाहरु दिने गर्दै आउनु भएको थियो । पतिले मेरो इच्छा विपरित जवरजस्ती करणी समेत गरे । यसरी पतिले मलाइ मेरो इच्छा विपरित म विरामी हुँदा समेत पटक पटक करणी गरी रहेको मलाई यस्तो नगर्नुहोस भन्दा समेत मेरो इच्छा र मन्जुरी बेगर पतिले त मेरी श्रीमती होस तलाई मैले जे पनि गर्न पाउँछु भन्दै मलाई पटक पटक जवरजस्ती करणी गरेका हुन्’ ।
उनले जवरजस्ती करणी गर्ने पतिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को दफा २१९ बमोजिम हदै सम्म सजाय गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेकी छिन्।
घरमा ससुरा, सासुआमा र उक्त कुरा बताउँदा समेत छोराले गरेका कार्यमा मौन बसेकाले उहाँहरूको समेत संलग्नता भएको शंका लागेकोले उहाँहरु समेतलाई झिकाई अनुसन्धान गरी पाऊँ भन्ने निवेदनमा उल्लेख छ । हामीले सम्पर्क गर्नुअगाडि व्यवस्त रहेको मोबाइल नम्बरमा केटिएम दैनिकले परिचयसहित म्यासेज गर्दा पनि उनको फोन उठेन ।
कानुनमा के छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (४) मा वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुने व्यवस्था छ ।