काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र विस्तारित भूमिकालाई समेट्ने गरी समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन् ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक तयार पारिएको बताए ।
मन्त्री तिमिल्सिनाले प्रस्तावित विधेयकले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता र भविष्यका सम्भावनालाई समेत समेटेको उल्लेख गरे । उनले चलचित्रको सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै यससम्बन्धी कानुनी व्यवस्थालाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
सेन्सर र वर्गीकरणसम्बन्धी व्यवस्था स्पष्ट पार्न विधेयकमाथि विभिन्न संशोधन प्रस्ताव परेको उल्लेख गर्दै उनले समितिले आवश्यक छलफल गरेर त्यसलाई निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गरे । कुन विषयमा सेन्सर आवश्यक पर्ने र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिने भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, चलचित्र क्षेत्रको समग्र विकासका लागि चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनमै स्पष्ट गरिनुपर्ने मन्त्री तिमिल्सिनाले बताए ।
बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने संस्थाका रूपमा विकास गर्न संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्ने व्यवस्था विधेयकमा समेटिनुपर्ने उनको धारणा थियो ।