काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु) को महासम्मेलनमा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् ।
कतारको दोहामा आयोजित आइटियु महासम्मेलन (आइटियु पिपी–२६) मा सहभागी भएर स्वदेश फर्किएका मन्त्री तिमिल्सिनाले बिहीबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील मुलुकमा विद्यमान डिजिटल विभाजन (डिजिटल डिभाइड) कम गर्ने र सूचना प्रविधिको पहुँच विस्तार गर्ने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए ।
सम्मेलनका क्रममा सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गरेका मुलुकसँग डिजिटल रूपान्तरणका लागि आगामी दिनमा सहकार्य र साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको उनले बताए ।
“सूचना प्रविधिको पहुँच विस्तार हुनुपर्नेमा विभिन्न कारणले कतिपय अवस्थामा खुम्चिँदै गएको पनि पाइएको छ । यसको पहुँच कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा द्विपक्षीय छलफल भयो”, उनले भने ।
मन्त्री तिमिल्सिनाका अनुसार सम्मेलनका क्रममा मलेसिया, इस्टोनिया, कतार, चीन, भारत र रुसलगायत मुलुकका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका क्रममा नेपालको आवश्यकता र प्राथमिकताअनुसार सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रमा सहकार्य र साझेदारीका सम्भावनाबारे छलफल गरिएको उनले बताए ।
त्यस्तै, बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा सञ्चार प्रणालीलाई कसरी निर्बाध सञ्चालन गर्ने भन्ने विषयमा पनि सम्मेलनमा व्यापक छलफल भएको थियो । मन्त्री तिमिल्सिनाले विपद्का बेला सञ्चारको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गर्दै नेपालका तर्फबाट नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए ।
उनले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।
विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी र प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनको भनाइ थियो ।
डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता (एआई) र फाइभजीजस्ता उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको उल्लेख गर्दै उनले डिजिटल रूपान्तरणको लाभ सबै देश र समुदायसम्म समान रूपमा पुर्याउन अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए ।
अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले विश्वव्यापी रूपमा दूरसञ्चार क्षेत्रको नीति निर्माण तथा नियमनसम्बन्धी मापदण्ड विकासमा भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थामा हाल १९४ राष्ट्र सदस्य छन् ।