इस्लामाबाद । चीन र पाकिस्तानले दुई देशबीच सञ्चार, तथ्य जाँच, अनुसन्धान तथा सांस्कृतिक सहकार्य विस्तार गर्ने उद्देश्यले ‘चीन–पाकिस्तान इन्फर्मेसन करिडोर’ सुरु गरेका छन्।
सोमबार इस्लामाबादमा आयोजित विशेष समारोहमा पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ताउल्लाह तरार, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता तथा प्रेस, सञ्चार र सार्वजनिक कूटनीति विभागकी महानिर्देशक माओ निङ र पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदङले संयुक्त रूपमा पहलको उद्घाटन गरे। कार्यक्रममा दुवै देशका ६०० भन्दा बढी प्रतिनिधि सहभागी थिए।
समारोहमा मन्त्री तरारले चीन–पाकिस्तान आर्थिक करिडोरले दुई देशको अर्थतन्त्रलाई जोडेको उल्लेख गर्दै नयाँ पहलले जनस्तरको सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार इन्फर्मेसन करिडोरले सञ्चारमाध्यमबीच सहकार्य, तथ्य जाँचमार्फत गलत सूचनाको नियन्त्रण, व्यावसायिक सञ्जाल विस्तार, बौद्धिक आदानप्रदान र पर्यटन प्रवर्द्धनमा जोड दिनेछ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन र पाकिस्तानलाई ‘सबै मौसमका रणनीतिक साझेदार’ भन्दै जनताबीच सम्बन्ध प्रगाढ बनाउन पहलले भूमिका खेल्ने बताइन्। ‘यो करिडोरले दुई देशबीचको सहयोगलाई जनस्तरसम्म पुर्याउन र जनताका हृदयलाई जोड्ने पुलको रूपमा काम गर्नेछ,’ उनले भनिन्।
चिनियाँ राजदूत जियाङ जाइदङले विभिन्न निकायको समन्वय र प्रयासबाट पहल साकार भएको उल्लेख गर्दै यसले दुवै देशको विकास र साझा भविष्यका कथालाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा चीन र पाकिस्तानका कला, संस्कृति तथा खानपानसमेत प्रदर्शन गरिएको थियो। सांस्कृतिक प्रस्तुतिमार्फत दुई देशबीचको परम्परागत मित्रतालाई थप सुदृढ बनाउने प्रयास गरिएको थियो।