जनकपुर । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । उनका अनुसार जुवातास, पटका पड्काउने, आगलागी तथा चोरीका घटना नियन्त्रणमा प्रहरीले विशेष निगरानी बढाएको छ ।
सुरक्षाका लागि सादा पोशाकका प्रहरी, पैदल तथा मोटरसाइकल गस्ती र रातिको समयमा निगरानी टोली परिचालन गरिएको छ । चाडपर्वमा धेरै मानिस घर छाडेर बाहिर जाने भएकाले चोरीको जोखिम बढ्न सक्ने भन्दै प्रहरीले त्यस्ता घर तथा स्थानमा निगरानी बढाएको खनालले बताए ।
उनले घर छाडेर बाहिर जानुपर्दा नजिकको प्रहरी युनिट, छिमेकी वा आफन्तलाई जानकारी गराउन र सम्भव भएसम्म घरको रेखदेखका लागि व्यक्ति राख्न नागरिकलाई आग्रह गरे । त्यस्तै, भीडभाड हुने स्थान तथा सार्वजनिक कार्यक्रममा जाँदा महँगा सुनका गहना र बहुमूल्य सामग्री नलगाउन पनि उनले सुझाव दिए ।
चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा परिचालनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।