चीन। कृत्रिम बुद्धिमत्ता (एआई) ले समाचार उत्पादनदेखि वितरणसम्मका काममा प्रभाव बढाइरहेका बेला सञ्चार क्षेत्रका नेताहरूले पत्रकारितामा मानवीय ज्ञान, व्यावसायिक निर्णय क्षमता र जिम्मेवारीको महत्त्व कायमै रहने बताएका छन् ।
चीनको बेइजिङमा शनिबार सुरु भएको सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको पूर्ण सत्रमा सहभागी प्रतिनिधिहरूले एआईले पत्रकारितामा सिर्जना गरेका अवसर र चुनौतीबारे छलफल गर्दै यसको जिम्मेवार प्रयोगका लागि अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिए ।
‘बौद्धिकताको युगमा सञ्चारमाध्यम : सहमतिदेखि कार्यान्वयनसम्म’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा समाचार उत्पादन, सम्पादन, अनुवाद तथा वितरणमा एआईको बढ्दो प्रयोगबारे चर्चा भएको थियो ।
इजिप्टको राज्य सूचना सेवाका अध्यक्ष अलाअ अल–दिन जकारिया युसेफले एआईले समाचार अनुवादलाई तीव्र बनाउन सक्ने भए पनि सन्दर्भ, सांस्कृतिक पक्ष र कूटनीतिक संवेदनशीलता जोगाउन अनुभवी अनुवादक तथा सम्पादकको भूमिका महत्त्वपूर्ण रहने बताए ।
भियतनाम समाचार एजेन्सीकी महानिर्देशक भु भियत ट्राङले संवाददाता जनताको नजिक रहेर महत्त्वपूर्ण घटना र समाचार सङ्कलनमा अग्रपङ्क्तिमा रहने उल्लेख गर्दै प्रविधिले पत्रकारलाई प्रतिस्थापन गर्न नसक्ने बताइन् । उनका अनुसार प्रत्येक समाचारमा मानवीय ज्ञान, व्यावसायिक निर्णय क्षमता र जिम्मेवारी जोडिएको हुन्छ ।
बुरुन्डीका राष्ट्रपतिका प्रवक्ता न्यान्सी–निनेटे मुटोनीले नयाँ सञ्चारमाध्यम र एआईको तीव्र विकासबाट उत्पन्न चुनौती सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, तालिम तथा प्रविधि आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
सिन्ह्वा समाचार एजेन्सी र बेइजिङ महानगर सरकारको संयुक्त आयोजनामा भइरहेको सम्मेलन नोभेम्बर ५ देखि ९ सम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरूले एआई युगमा पत्रकारिताको भविष्य, प्रविधिको जिम्मेवार प्रयोग र अन्तर्राष्ट्रिय सञ्चार सहकार्यबारे छलफल गरिरहेका छन् ।