काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको भीषण माइक्रोबस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस बुधबार बिहान दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए।
कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले दुर्घटना न्यूनीकरणका लागि तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा दुर्घटनाका कारणहरूको गहन अध्ययन गरी सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी तथा यातायात व्यवस्थापनमा रहेका कमजोरी पहिचान गर्नुपर्नेमा जोड दिइएको छ।
त्यस्ता कमजोरी सुधारका लागि प्रभावकारी नीतिगत तथा व्यावहारिक उपाय अवलम्बन गर्नसमेत कांग्रेसले सरकारसँग आग्रह गरेको छ।