काठमाडौं। नेकपा (एमाले) ले आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष–उपाध्यक्ष र संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन्।
बैठकले आगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। वडा तथा पालिका अधिवेशनपछि सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको भट्टले बताए।
बैठकको सुरुमै पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथ लिएको उनले जानकारी दिए। मधेस प्रदेशबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने रौतहटकी जैनव खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई पठाउने निर्णयसमेत बैठकले गरेको छ।
भट्टका अनुसार १३ जिल्लामा अध्यक्ष पद रिक्त रहेकाले सम्बन्धित स्थानीय कमिटीले अध्यक्षका लागि नाम प्रस्ताव गरी माथिल्लो कमिटीबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ।
‘मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय भएको छ,’ भट्टले भने।