काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । स्थानीय तहको सांगठनिक संरचना निर्माण तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले पालिका अधिवेशन आयोजना गर्न लागिएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।
त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको समितिका सदस्य सचिव राजु कटुवालले बताए ।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् । जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ ।
कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ ।