मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा ज्यान गुमाउने चालकसहित ११ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा पाँच महिला (तीन बालिकासहित) र छ पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार मृत्यु हुने सवारी चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ निवासी ३० वर्षीय रविशंकर कुमार मण्डल हुन् । अन्य १० जना मृतक सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर टोलका बासिन्दा रहेको उनले जानकारी दिए ।
दुर्घटनामा एकै परिवारका आमा र तीन छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया पुनम यादव र उनका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, सात वर्षीया दिक्षा यादव र पाँच वर्षीया दिपिका यादव रहेका छन् । त्यस्तै, २६ वर्षीय बिकेश यादवको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यसैगरी ३६ वर्षीय गुड्डु यादव र उनकी ३२ वर्षीया श्रीमती गायत्री देवी, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवले पनि ज्यान गुमाएका छन् ।
दुर्घटनामा घाइते भएका छ जनालाई उद्धार गरी सुरुमा हेटौँडा अस्पताल पुर्याइएको थियो । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १४ महिने बालक सुदीप यादव र मृतक गुड्डु यादवका तीन वर्षीय छोरा सुजन यादवलाई थप उपचारका लागि काठमाडौँस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको प्रवक्ता काफ्लेले बताए ।
त्यस्तै, टाउको र शरीरमा चोट लागेका ३१ वर्षीय देवेन्द्र राय (बेचु) लाई थप उपचारका लागि चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको छ ।
अन्य तीन घाइते ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय भने हेटौँडा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।