काठमाडौं । बलिउड अभिनेत्री पूजा चोपडाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना तथा दर्शन गरेकी छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार अभिनेत्री चोपडाले रु. २ हजार १०० को रसिद काटेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा दर्शन गरेकी हुन्।
कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमका अनुसार चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना तथा दर्शन गरेका छन्।
सौरमासअनुसार आज साउन महिनाको अन्तिम दिन भएकाले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। सार्वजनिक बिदासमेत परेकाले साउनको अन्तिम दिन भगवान् पशुपतिनाथको दर्शन गर्न ठूलो संख्यामा भक्तजन मन्दिर पुगेका हुन्।
अभिनेत्री चोपडा पनि साउन महिनाको अवसर पारेर पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्न नेपाल आएकी हुन्।
यसअघि गत साता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा विशेष पूजाको रसिद काटेर पूजा, आराधना तथा दर्शन गरेकी थिइन्।