काठमाडौं – बजार अनुगमनका क्रममा तोकिएको जरिबाना रकम बुझाउन बाँकी रहेका व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई सरकारले एक महिनाभित्र रकम दाखिला गर्न निर्देशन दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सबै व्यवसायीलाई एक महिनाको समयसीमा दिएको हो ।
विभागका अनुसार उपभोक्ताको हकहित र अधिकार संरक्षण तथा स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्ने उद्देश्यले विभाग र मातहतका कार्यालयले विभिन्न समयमा नियमित तथा आकस्मिक बजार अनुगमन गर्दै आएका छन् । सो क्रममा प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएका फर्म तथा प्रतिष्ठानलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम तत्काल जरिबाना गरिएको थियो ।
तर, कतिपय व्यवसायीले हालसम्म पनि जरिबाना रकम सरकारी राजस्व खातामा दाखिला नगरेको र त्यसको प्रमाण विभागमा पेस नगरेको पाइएको सूचनामा उल्लेख छ ।
विभागले जरिबाना तिर्न बाँकी रहेका सबै व्यवसायीलाई सूचना पहिलोपटक प्रकाशित भएको मितिले एक महिनाभित्र तोकिएको रकम सरकारी राजस्व खातामा जम्मा गर्न निर्देशन दिएको छ । रकम दाखिला गरेपछि सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य जानकारी गराउनुपर्नेछ ।
जरिबाना रकम हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गरी जम्मा गर्नुपर्ने विभागले जनाएको छ ।
तोकिएको समयभित्र जरिबाना नबुझाए विभागले व्यवसायीमाथि तीन चरणमा कडा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।
पहिलो चरणमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (५) तथा दफा ४० बमोजिम सम्बन्धित पसल, फर्म वा प्रतिष्ठानमा सिलबन्दी गरी व्यावसायिक कारोबार रोक्का गरिनेछ ।
दोस्रो चरणमा प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, कम्पनी ऐन, २०६३ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाइनेछ । साथै, अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र तथा अनुमतिपत्र निलम्बन वा खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाइने विभागले जनाएको छ ।
त्यस्तै, तेस्रो चरणमा जरिबाना रकमलाई सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ । यसअन्तर्गत सम्बन्धित मालपोत कार्यालय, बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का राख्न सकिने विभागले जनाएको छ ।
विभागले जरिबाना दाखिला गर्ने प्रक्रिया, राजस्व शीर्षक, कार्यालय कोड तथा बैंक खातासम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट हेर्न वा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।