निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र ‘हिमालयन गोल्ड’ को ट्रेलर सार्वनजिक भएको छ । चलचित्र टीमले शुक्रबार करिब दुई मिनेटको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो ।
आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले हिमाली भेगमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ ।
सार्वजनिक ट्रेलरमा हिमाली क्षेत्रको सुन्दरता र त्यहाँको कठिन जीवनशैलीसँगै यार्सागुम्बा संकलनका लागि पुग्ने सर्वसाधारणले भोग्नुपर्ने जोखिमलाई देखाइएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा लोभ र पैसाका लागि मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने विषयलाई पनि उठाइएको छ ।
रिलिजमा एक हप्ता मात्र बाँकी हुँदा दोस्रो ट्रेलर ल्याएर टोलीले दर्शकको उत्सुकता बढाउन खोजेको छ । जसमा लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ । नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले सर्भाइभल कथामार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ ।
यो चलचित्रको सबैभन्दा भावनात्मक पक्ष यो नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हुनु हो । ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ । त्यस्तै, चलचित्रमा कर्मा शाक्यलगायतका कलाकार पनि फरक चरित्रमा प्रस्तुत भएका छन् । मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ।
निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ ।
चलचित्रमा सुनिल, कर्मा र परीक्षाका साथै राहुल एन. मुखिया, सजन थापा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । अंकित खड्का, सुनिल तामाङ, सेवित्ता अधिकारी, ऋषिकेश बस्याल, तेन्जिङ ठकुरी र छेरिङ गोन्पोको पनि अभिनय छ ।
हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कायकारी निर्माता राजु राजवंशी रहेका छन् ।
निर्देशक राजवंशीकै कथा रहेको चलचित्रमा दीपेन्द गौचन र धिराज राजवंशीको पटकथा, विशष्ठ प्रधानको डिओपी, निमेश श्रेष्ठको सम्पादन, सजल लोप्चन र करुण थापाको भिएफएक्स छ ।
यो चलचित्रलाई भारतको प्रतिष्ठित वितरक ए ए फिल्म्स्ले भारतमा प्रदर्शन गर्ने भएको छ । ए ए फिल्म्स भारतीय सिनेमाकै प्रख्यात वितरण कम्पनी हो, जसले बहुबली, आरआरआर, केजिएफ जस्ता फिल्म वितरण गरेको थियो । मिडलइस्ट डिस्ट्रिब्युटरमा फार्स फिल्मको मोसन पिक्चर्सले गर्ने चलचित्रलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्म लिएको छ । जापानमा ‘टोकियो ड्रिम इन्टरटेनमेन्ट’ वितरक छन् ।
निर्माण टिमका अनुसार नेपाली चलचित्रले यति ठूलो वितरकमार्फत भारतव्यापी प्रदर्शन पाउनु यो पहिलो पटक हो । थडानीले चलचित्रको कथावस्तुले भाषा र भौगोलिक सीमा पार गरेर दर्शकसँग जोडिन सक्ने विश्वास व्यक्त गरेका छन् ।