काठमाडौं । स्थापनाको ३०औँ वर्ष प्रवेश गरेको अवसरमा आर्या फार्माल्याब्सले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ।
सम्झौताअनुसार कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्ध थप बलियो बनाउने लक्ष्य राखेको छ।
कम्पनीले आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै एनपीएलमार्फत सर्वसाधारणलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी दिने जनाएको छ।
सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्या फार्माल्याब्सले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्नेछ। यसबाट खेल हेर्न आउने दर्शकलाई मनोरञ्जनसँगै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने कम्पनीको अपेक्षा छ।
कम्पनीले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ अन्तर्गत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्नेछ। त्यस्तै, प्रत्येक खेलमा एक दर्शकलाई २० हजार रुपैयाँको ‘हटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिनेछ।
स्थापनाको ३०औँ वर्षमा सुरु भएको यस सहकार्यलाई कम्पनीले आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। क्रिकेटजस्तो लोकप्रिय खेलमार्फत धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पुर्याउन सकिने विश्वास पनि कम्पनीले व्यक्त गरेको छ।