चन्दा क्षेत्री/कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) खेलेर फर्किन लागेका स्कटल्यान्डका ब्याटर जर्ज मुन्से नेपाली समर्थकको क्रिकेटप्रतिको माया, उत्साह र विदेशी खेलाडीलाई गर्ने सम्मानबाट प्रभावित भएका छन् ।
सुदूरपश्चिम रोयल्सलाई तेस्रो प्रयासमा एनपीएल च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका मुन्सेले नेपाली क्रिकेटको सबैभन्दा विशेष पक्ष नै यहाँका समर्थक भएको बताए । बीबीएल, पीएसएल र आईएलटी२० जस्ता फ्रेन्चाइज लिग खेलिसकेका उनका लागि एनपीएलको अनुभव पनि विशेष रह्यो ।
‘एनपीएलको सबैभन्दा विशेष पक्ष यहाँका समर्थक र नेपाली क्रिकेटप्रतिको उनीहरूको माया हो,’ फाइनलपछि उनले भने, ‘यहाँ आएर मानिसहरूले क्रिकेटलाई कति माया गर्छन् र विदेशी खेलाडीलाई समेत कति सम्मान गर्छन् भन्ने प्रत्यक्ष देख्न पाइन्छ ।’
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध मुन्सेले ५४ बलमा अविजित १२५ रन बनाएका थिए । उनको आक्रामक इनिङमा आठ चौका र १२ छक्का समावेश थिए । उनले ४९ बलमै शतक पूरा गरेका थिए । मुन्से र विनोद भण्डारीको अविजित साझेदारीमा सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गर्दै १० विकेटको जित निकालेको थियो ।
फाइनलमा दर्शकबाट पाएको समर्थनले आफूलाई थप उत्साहित बनाएको मुन्सेले सुनाए । आफू १५–१६ रनमा खेलिरहँदा नै दर्शकदीर्घाबाट आफ्नो नाममा हुटिङ सुरु भएको सम्झँदै उनले रंगशाला खचाखच भरिएको माहोललाई अविस्मरणीय अनुभव बताए ।
नेपाली खेलाडीसँग एउटै टोलीमा रहेर खेल्न पाउनु पनि उनका लागि उत्तिकै विशेष रह्यो । सुदूरपश्चिमका खेलाडी निकै सहयोगी रहेको र मैदानमा जितका लागि शतप्रतिशत प्रयास गर्ने गरेको उनले बताए । टोलीमा देखिएको एकता र जितका लागि लड्ने भावनाले आफू प्रभावित भएको उनको भनाइ थियो ।
क्यारेबियन क्षेत्रमा रहेका बेला केही दिनका लागि घर फर्किएको समयमा एनपीएल खेल्न आउन प्रस्ताव आएको मुन्सेले बताए । नेपाली समर्थकसामु खेल्ने र नेपाली खेलाडीसँग एउटै टोलीमा रहेर प्रतिस्पर्धा गर्ने अवसरलाई उनले विशेष मानेका छन् ।
व्यक्तिगत रूपमा पछिल्ला केही खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि फाइनलमा टोलीका लागि योगदान दिन पाउँदा सन्तुष्टि मिलेको उनले बताए । फाइनलको शतक परिवारलाई समर्पित गरेका मुन्सेले उपाधिको श्रेय भने टोलीका खेलाडी र प्रशिक्षकलाई दिए ।
लगातार दुई संस्करण फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले यसपटक तेस्रो प्रयासमा सफलता पाएको थियो । मुन्सेका अनुसार टोलीको निरन्तर फाइनल यात्रा नै उसको क्षमता र स्तरको प्रमाण थियो । यसपटक उपाधि जित्ने प्रतीक्षा पूरा हुँदा ड्रेसिङ रुममा देखिएको गर्वको भावना विशेष रहेको उनले बताए ।