सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले पराजित गर्दै एपिएफले पहिलो संस्करणको उपाधि उचालेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । त्यसपछि अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरिन् ।
पहिलो संस्करणमै उपाधि जितेको एपिएफले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको नेपाल पुलिस क्लबले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ ।
आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईका अनुसार डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।
धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।