बाजुरा– बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शुक्रबार राति जगन्नाथ गाउँपालिकामा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो।
जगन्नाथ गाउँपालिकाको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर दाउणामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही, ३५ वर्षीय धर्म शाही र ५२ वर्षीया नामसरा देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।
दुर्घटनामा सोही ठाउँका ४० वर्षीय बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया सङ्गीता शाही र ट्र्याक्टर चालक २१ वर्षीय नवीन बोहरा घाइते भएका छन्। घाइते चारै जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अछामको रामारोशन गाउँपालिका–४ निवासी बोहराले चलाएको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।