काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि चार दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । अदालतले अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
सीआईबीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अर्याललाई ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाएको थियो ।
मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि लागेको छ ।