काठमाडौं । रेड बुल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को तेस्रो संस्करण आगामी पुस ६ गतेदेखि आयोजना हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आगामी पुस ६ देखि १५ गतेसम्म (डिसेम्बर २१ देखि ३०, २०२६) सञ्चालन हुने जानकारी दिएको हो ।
दश दिनसम्म चल्ने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुनेछ ।
प्रतियोगिताको मिति नेपाल भलिबल संघले आधिकारिक रूपमा स्वीकृत गरिसकेको छ भने खेल सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद्ले पनि स्थल स्वीकृति दिएको आयोजकले जनाएको छ ।
दुवै निकायको समर्थनले लिगलाई नेपालको खेलकुद क्यालेन्डरको महत्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
तेस्रो संस्करणलाई विगतभन्दा अझ उत्कृष्ट र व्यवस्थित रूपमा सञ्चालन गर्ने लक्ष्य आयोजकले राखेको छ । सुरुआतदेखि नै एभरेष्ट महिला भलिबल लिगले नेपाली महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने र नयाँ पुस्तालाई भलिबलप्रति आकर्षित गर्ने अवसर प्रदान गर्दै आएको छ ।
मुख्य प्रायोजक रेड बुलसँगको साझेदारीले नेपालमा महिला भलिबलको विकास, प्रवर्द्धन र दर्शकको पहुँच विस्तारमा थप योगदान पुग्ने आयोजकको अपेक्षा छ ।
लिगमा सहभागी हुने टोली, खेल तालिका र टिकट बिक्रीसम्बन्धी विस्तृत जानकारी चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।