पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले आयोजनाको भौतिक प्रगति, कार्यान्वयनको अवस्था तथा देखिएका समस्याबारे जानकारी लिएका थिए। आयोजना व्यवस्थापन पक्षले हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराएको थियो।
आयोजनास्थलमा रुख कटानसम्बन्धी समस्या देखिएकाले त्यसको समाधान गरी निर्माण कार्यलाई गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाए।
कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना रूपाताल संरक्षण, पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका दृष्टिले महत्वपूर्ण रहेको उनले बताए। रूपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उनले कास्कीका अन्य तालको संरक्षणका लागि पनि यस्तै योजना बनाउन सकिने धारणा राखे।
प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो।
यसैक्रममा मन्त्री श्रेष्ठले गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवातालसहित प्रदेशका अन्य ताल तथा जलाशयको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका विषयमा छलफल गरे। भेटमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य र समन्वय बढाउने विषयमा पनि कुराकानी भएको थियो।
दुई मन्त्रीबीच प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्ध निर्माण तथा सिँचाइ आयोजनालाई दुवै सरकारको समन्वयमा अघि बढाउने विषयमा छलफल भएको बताइएको छ।
मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सबस्टेसनको पनि स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिए। उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन तथा विश्लेषणका लागि डाटा सेन्टरको सञ्चालन र उपयोगिताबारे समेत जानकारी लिएका थिए।
हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।
उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गर्दै विद्युत् वितरण प्रणाली, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिए।
विद्युत् चुहावट घटाउने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।