चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्न आइतबार (मंसिर १३) देखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडकमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।
पहिरो नियन्त्रणको काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।
तुइनखोला क्षेत्रमा पटकपटक पहिरो खस्ने समस्या देखिएपछि दीर्घकालीन समाधानका लागि सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि प्रयोग गरेर रोकथामको काम अघि बढाउन लागेको हो । पछिल्लो समय वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्दा सडक अवरुद्ध हुने समस्या बढेपछि नियन्त्रणका उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ ।
पहिरो नियन्त्रणका लागि भिरमा रहेका ठूला ढुङ्गा हटाउने, भिरको ढलान व्यवस्थापन गर्ने तथा किला रड प्रयोग गरी पहिरो प्रभावित क्षेत्रलाई मजबुत बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यस्तै, भिरबाट रसाएर आउने पानीको निकासका लागि ‘होरिजोन्टल ड्रेन’ र जैविक प्रविधिमा आधारित बायोइन्जिनियरिङ विधि प्रयोग गरिनेछ ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार भिरको अवस्थाअनुसार द्विआयामिक र त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङ गरिनेछ । पहिरो नियन्त्रणका लागि मुख्य रूपमा नेलिङ प्रविधिलाई प्राथमिकता दिइने उनले बताए ।
गत असोजदेखि रोकिएको पहिरो नियन्त्रणको काम पुनः सुरु गर्न लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि तुइनखोलामा पनि काम गरिएको थियो । तर, कृष्णभीरमा यातायात सञ्चालन सहज भएपछि तुइनखोलाको काम स्थगित गरिएको शर्माले बताए ।
उनका अनुसार तुइनखोलामा प्रभावकारी रूपमा काम सम्पन्न गर्न कम्तीमा १५ दिन सडक बन्द गर्नुपर्ने देखिएको छ । यद्यपि, प्राविधिक मूल्याङ्कनपछि कामका लागि आवश्यक समय निर्धारण गरिनेछ । तत्कालका लागि भने दैनिक पाँच घण्टा सडक बन्द गरेर काम अघि बढाउन लागिएको हो ।
यसैबीच, पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सम्पन्न हुने र त्यसपछि पर्सिदेखि यातायात सञ्चालनमा आउने शर्माले जानकारी दिए । घोप्टेभीरको काम सकिएलगत्तै तुइनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम अघि बढाइनेछ ।
प्रशासनका अनुसार काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित सञ्चालनमा रहनेछ । सडक बन्दका कारण यात्रु तथा सवारी चालकलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै प्रशासनले आफ्नो यात्राको समय मिलाउन आग्रह गरेको छ ।