काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले काठमाडौं उपत्यकाको खानेपानी आपूर्ति तथा ढल निकास प्रणाली सुधारका लागि नेपाललाई ५ करोड ७५ लाख अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता स्वीकृत गरेको छ ।
एडीबीले स्वीकृत गरेको कुल सहायतामध्ये ५ करोड अमेरिकी डलर ऋण र ७५ लाख अमेरिकी डलर अनुदान रहेको छ । ऋण तथा अनुदानको यो रकम नेपाली मुद्रामा करिब ८ अर्ब ४९ करोड रुपैयाँ बराबर हुन्छ ।
‘काठमाडौं भ्याली वाटर सेक्टर रिफर्म प्रोग्राम’ अन्तर्गत उक्त परियोजना कार्यान्वयन गरिने एडीबीले जनाएको छ । काठमाडौं उपत्यकामा स्वच्छ खानेपानीको पहुँच विस्तार तथा ढल व्यवस्थापनमा देखिएका समस्या समाधान गर्ने परियोजनाको उद्देश्य छ ।
परियोजनाले कमजोर संस्थागत क्षमता, सेवा प्रदायक संस्थाहरूको व्यावसायिक कार्यसम्पादनमा कमी, फोहोर पानी प्रशोधन सुविधाको अभाव तथा एकीकृत योजना र विकासको कमीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
एडीबीका अनुसार खानेपानी क्षेत्रसँग सम्बन्धित निकायहरूको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै नागरिक केन्द्रित जल वितरण प्रणालीलाई सुदृढ बनाइनेछ । साथै, जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधार विकासमा पनि लगानी गरिनेछ ।
एडीबीका नेपालस्थित कन्ट्री डाइरेक्टर अर्नोड काउचोइसले खानेपानी सेवामा संलग्न संस्थाहरूको क्षमता र कार्यसम्पादन सुधार गर्दै जलवायु उत्थानशील पूर्वाधार निर्माणमा सहयोग गरिने बताए ।
काठमाडौं उपत्यकाको खानेपानी तथा ढल निकास सेवा प्रभावकारी र दिगो बनाउने नेपाल सरकारको प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले एडीबीले उक्त सहायता स्वीकृत गरेको हो ।