वीरगञ्ज । पर्सा जिल्लामा गत कात्तिक महिनामा विभिन्न प्रकृतिका ११८ वटा आपराधिक घटनासम्बन्धी उजुरी दर्ता भएका छन् । सोही अवधिमा विभिन्न मुद्दाका फरार प्रतिवादी तथा अभियुक्त गरी १२२ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कात्तिक महिनामा सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीका आठ, आर्थिक अपराधका ४९, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले उक्त अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ८५ जना प्रतिवादीसमेत पक्राउ परेको जानकारी दिए । अदालतको फैसलाअनुसार उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्नेछ ।
प्रहरीका अनुसार कात्तिक महिनामा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक, बैङ्किङ कसुरका १४ तथा ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन् ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले उक्त अवधिमा १४ वटा मुद्दा दर्ता गरी संलग्नताको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । पक्राउका क्रममा ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुलसमेत बरामद गरिएको छ ।
लागुऔषध दुरुपयोग नियन्त्रण तथा सचेतना अभिवृद्धिका लागि प्रहरीले गत महिना ३१ वटा कार्यक्रम सञ्चालन गरी ५१४ जनालाई सचेत गराएको जनाएको छ ।
अपराध न्यूनीकरण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले जिल्लाका विभिन्न स्थानमा सिसिटिभी जडान, क्युआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग, सामाजिक सञ्जालको निगरानी, गोप्य सूचना सङ्कलन र नियमित गस्तीलाई तीव्रता दिएको छ ।
त्यस्तै, मोबाइल क्विक रेस्पोन्स टोली परिचालन, सीमा क्षेत्रमा निगरानी तथा रातिको समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विगतका घटनामा संलग्नताको आधारमा ३५ वटा प्रोफाइलसमेत तयार पारिएको छ ।