काठमाडौं । यस वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली चलचित्रमध्ये ‘लालीबजार’ सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्स अफिस’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठ १६ गतेसम्म चलचित्रले रु ७ करोड ९० लाख ३१ हजार ४७६ को व्यापार गरेको छ। सो अवधिसम्म चलचित्रका एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन्।
वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेकी छन्। चलचित्रको सफलताप्रति खुसी व्यक्त गर्दै अभिनेता रवीन्द्रसिंह बानियाँले दर्शकको माया नै टोलीको सबैभन्दा ठूलो उपलब्धि भएको बताए। उनका अनुसार चलचित्रले मनोरञ्जनसँगै शिक्षाको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ, जसलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गरेका छन्।
चलचित्रमा रवीन्द्रसिंह बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रशंसा सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ।
यसैबीच, वैशाख ११ गते प्रदर्शनमा आएको ‘परालको आगो’ ले रु ४ करोड २७ लाख ८४ हजार ४४५ कमाइ गरेको छ। सुशील पोखरेलद्वारा निर्मित र लक्ष्मण सुनारको निर्देशनमा बनेको यस चलचित्रका एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन्। चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्।
वैशाख २५ देखि प्रदर्शनरत ‘मालती मङ्गले’ ले हालसम्म रु ५१ लाख ७३ हजार ७९३ कमाइ गरेको छ भने १६ हजार १८८ टिकट बिक्री भएका छन्। गायक रामकृष्ण ढकालद्वारा निर्मित तथा प्रकु पाण्डेय निर्देशित यस चलचित्रमा वर्षा राउत, विजय बराल र मेक्सम गौडेल लगायत कलाकारको अभिनय रहेको छ।
सोही मितिमा प्रदर्शनमा आएको ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ कमाइ गरेको छ। चलचित्रका ९ हजार ३२७ टिकट बिक्री भएका छन्। प्रेम सोनी सुनार निर्देशित चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला र उत्तम केसी लगायत कलाकार छन्।
जेठ १ गतेदेखि प्रदर्शनमा आएको ‘एक मुठ्ठी बादल’ ले रु ५ लाख २१ हजार ८२५ कमाइ गर्दै १ हजार ५०५ टिकट बिक्री गरेको छ। सहारा शर्माको निर्देशनमा बनेको यस चलचित्रमा आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक र निशा शर्मा लगायत कलाकारको अभिनय रहेको छ।
त्यसैगरी, ‘लाइफ ड्यामेज’ ले हालसम्म रु ३३ लाख २६ हजार ३२० कमाइ गरेको छ। निमेष श्रेष्ठ निर्देशित ‘फ्यान्टासी कमेडी ड्रामा’ शैलीको यस चलचित्रका १० हजार ८५५ टिकट बिक्री भएका छन्। चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल र अनिश जंग थापा लगायत कलाकारको अभिनय छ।
जेठ ८ गते प्रदर्शनमा आएका ‘काजी’ र ‘मितज्यू’ ले भने अपेक्षाअनुसार व्यापार गर्न सकेका छैनन्। ‘काजी’ ले हालसम्म रु ४० लाख ८८ हजार १७५ कमाइ गर्दै १३ हजार ७ टिकट बिक्री गरेको छ। लक्ष्मण रिजाल निर्देशित चलचित्रमा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा मुख्य भूमिकामा छन्।
उता, ‘मितज्यू’ ले रु १ करोड २० लाख ५९ हजार ८२ कमाइ गरेको छ। अनिल बुढा मगर निर्देशित चलचित्रका ४१ हजार २४८ टिकट बिक्री भएका छन्। चलचित्रमा सौगात मल्ल, दयाहाङ राई र टेरिया फौजा मगर लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्र विकास बोर्डले प्रत्येक सोमबार ‘सिनेपा–२ बक्स अफिस’ मार्फत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गर्दै आएको छ। हालसम्मको तथ्याङ्कअनुसार २०८३ सालमा घरेलु बक्स अफिसमा ‘लालीबजार’ सबैभन्दा सफल नेपाली चलचित्रका रूपमा स्थापित भएको छ।