काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् । सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महसुस हुनेगरी परिणाम दिन नसकेको अध्यक्ष राईले दाबी गरे । उनले महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए । सरकारले सय दिनमा गरेका कामहरुको जनताले महसुस गरेजस्तो आफ्नो अनुभुति नरहेको अध्यक्ष राईको भनाई छ ।
उनले भने,‘कोशिस उहाँहरुले गर्नुभएको हो । तर रिजल्ट चाहीँ जनतालाई त्यति महसुस भएको छैन । रिजल्ट भएको महसुस हुुनुपर्दछ । महँगीहरु धेरै भयो । अब महँगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो । म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन । पेट्रोलको भाउ अलि घट्यो रे भन्ने छ ।’
अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे। उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताए ।