तनहुँ, ६ भाद्र । पृथ्वी राजमार्ग पहिरोको कारण अवरुद्ध भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
हिजो बेलुका तनहुँको घाँसीकुवा नेर सडकको माथिबाट पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
प्रहरीले साना तथा मझौला सवारी साधनको लागि दमौली हुँदै घाँसीकुवा मार्गको प्रयोग गर्न भनेको छ । तालघरे, दरैपंधेरा हुँदै घाँसीकुवा जान सकिने जिल्ला प्रहरी कार्यालय तनहुँले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तैगरी घाँसीकुवा हुँदै दमौली जाने सवारीसाधनले घाँसीकुवा-पोल्याड- रानीगाउँ हुँदै तालघरेको बाटो प्रयोग गर्नुपर्नेछ ।
हेभि सवारी साधनले भने डुम्रे-वेशिशहर लम्लुङ सडक खण्ड हुँदै पोखरा जाने मार्ग प्रयोग गर्नुपर्ने तनहुँ प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
पहिरोले पूर्णरुपले अवरुद्ध भएको सडक खुलाउन पहल भइरहेको बताइएको छ ।