वीरगन्जको गण्डक अस्पतालका सञ्चालकले अस्पताल सरकारलाई दिने निर्णय गरेको छ।
शुक्रबार वीरगन्ज महानगरपालिका लाई पत्र लेख्दै कोभिड-१९ उपचारका लागि जिम्मा दिने निर्णय गरेको हो ।
पर्सामा कोभिड-१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा संक्रमितलाई राख्ने बेडको अभाव भइरहेको छ।
अस्पतालमा कोरोना संक्रमितलाई राखेका कारण अस्पतालका अन्य सेवा अवरुद्ध भई अन्य रोगका बिरामी उपचारबाट बञ्चित भइरहेका छन् ।
यस कारण वीरगन्जमा अर्को कुनै अस्पताललाई कोभिड-१९ उपचार केन्द्र बनाउने र नारायणी अस्पतालका अन्य सेवा सुचारु गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो।
सोही निर्णय बमोजिम वीरगन्ज महानगरले कोभिड-१९ उपचारका लागि अस्थायी रुपमा अस्पताल उपलब्ध गराउन तयार निजी अस्पताललाई ३ दिनभित्र प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो।
महानगरको सूचना अनुसार आफ्नो अस्पताल कोभिड-१९ उपचार केन्द्र बनाउनका लागि सरकारलाई दिन तयार रहेको गण्डक अस्पतालले जनाएको छ। ‘यस अस्पतालको वी म न पा वडा न १४ स्थित भवन र अस्पताल भवनमा रहेका सम्पूर्ण उपकरणहरु वेडहरु तथा अस्पतालमा प्रयोग भइरहेका सम्पूर्ण उपकरणहरु महानगरपालिकालाई महानगरपालिकालाइ हस्तान्तण गर्न तत्पर रहेको व्यहोरा जानकारीका लागि अनुरोध छ।’ अस्पतालले महानगरलाई पठाएको पत्रमा लेखिएको छ ।
यो सबै उपलब्ध गराएबापत कुनै भाडा नलिने पनि पत्रमा उल्लेख छ। आफ्नो व्यवसायभन्दा देश समस्या ठूलो भएकाले आपतका बेला कोरोना उपचारका लागि अस्पताल सरकारलाई दिन निर्णय गरेको गण्डक अस्पतालका सञ्चालक रहवर अन्सारीले बताउनु भयो ।‘अहिलेको मुख्य समस्या कोरोना महामारीसँग लड्नु हो’ अन्सारीले भने–‘देशभन्दा हाम्रो व्यवसाय ठूलो होइन् देशलाई संकटबाट पार लगाउनु हाम्रो पनि मुख्य दायित्व हो।’ निकै अघिदेखि नै आफूहरुले कोरोना उपचारका लागि गण्डक अस्पताल दिन तयार रहेका भनी सम्बन्धित व्यक्ति तथा निकायलाई मौखिक जानकारी दिँदै आएको अन्सारीको भनाइ छ।