
अमेरिकाको कोलोराडो राज्य स्थित इंगलहुड सहरमा मास्क नलगाई घरबाहिर निस्कनेले एक वर्ष जेल बस्नुपर्ने आदेश जारी भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु आफ्ना नागरिकलाई जवर्जस्ती मास्क लगाउन बाध्य पार्ने पक्षमा नरहेको बताइरहेका बेला त्यहाँ यस्तो नियम लागु गरिएको हो ।
सो सहरका प्रमुख जे. शवन लेविसले अघिल्लो साता त्यहाँको सिटी काउन्सिलबाट यस्तो नियम अनुमोदन गराएका हुन् । अब त्यो सहरमा ६ वर्ष माथिका जो कोहीले घरबाट बाहिर निस्कँदा अनिवार्यरुपमा मास्क लगाएकै हुनुपर्छ । घरबाहिरका सार्वजनिक वा निजी स्थलमा समेत मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
कुनै ट्याक्सी चढ्दा वा कसैसँग आफ्नो कार शेयरिंग गर्दा समेत मास्क लगाएकै हुनुपर्छ । यदि यो नियम कसैले उलङ्घन गर्यो भने एक वर्ष सम्म जेल बस्नुपर्ने सो आदेशमा उल्लेख गरिएको न्युयोर्क टाइम्सले समाचारमा जनाएको छ ।
यस्तो गल्ती गर्नेलाई पहिलो पटक मात्र १५ अमेरिकी डलर जरिवाना गराएर छ्होदिने छ भने दोस्रो पटकमा २५ डलर तिर्नु पर्नेछ । आदेशमा लेखिएको छ यस्तो जरिवाना अधिकतम २ हजार ६ सय ५० डलरसम्म हुनसक्छ । त्यसै गरी एक वर्षसम्म जेल सजाय वा दुवै समेत हुनसक्छ ।
मास्क नलाउने अडानमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अघिल्लो शनिवार देखि सार्वजनिक समारोहमा मास्क लगाउन थालेका छन् । तर राष्ट्रव्यापी रूपमा अमेरिकी नागरिकहरूलाई मास्क लगाउन आदेश भने आफूले नदिने बताएका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौचीले सकेसम्म सर्वसाधारणलाई मास्क लगाउने अनिवार्य व्यवस्था गर्न आग्रह गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
डाक्टर फौचीले कोरोना सङ्क्रमण न्यूनीकरणका लागि मास्क लगाउनु अति नै आवश्यक रहेको बताएका थिए । ‘मास्क लगाउनु अति नै आवश्यक छ । हामी सबैले मास्क प्रयोग गर्नुपर्छ,’ डाक्टर फौचीले भनेका थिए ।
अमेरिकामा मास्क लगाउने नलगाउने भन्नेबारे विषयमा राजनीतिकरण भएको छ । अधिकांश राज्य सरकारले घरबाट बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन आदेश दिएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएयता मास्क नलगाउने बताइरहेका राष्ट्रपति ट्रम्पले गत शनिवार पहिलो पटक मास्क लगाएका थिए ।
तर, शुक्रवार फक्स न्युजसँग कुरा गर्दै राष्ट्रव्यापी रूपमा मास्क अनिवार्य गर्ने कुरामा आफू सहमत नभएको बताएका छन् । मास्क लगाउने नलगाउने भन्नेबारे नागरिकलाई ‘स्वतन्त्र’ छाडिदिनुपर्ने पनि ट्रम्पले बताए ।