
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या ६ लाख ५ हजार नाघेको छ ।
नेपाली समयअनुसार आइतबार दिँउसो ३ बजेसम्मको तथ्यांकअनुसार विश्वभरी कुल मृतकको सङ्ख्या ६ लाख ५ हजार २ सय ३ पुगेको हो ।
त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या १ करोड ४४ लाख ४३ हजार ४ सय ५८ पुगेको छ ।
मृतकमध्ये २ लाख ५ हजार ६५ जना युरोपेली मुलुकका रहेका छन् । युरोपेली देशहरु कोरोनाभाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन् ।
त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो । त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म १ लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ ।
देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै १ लाख ४२ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ८ सय १७ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मानिसको मृत्यु भएको बेलायतमा ४५ हजार २ सय ७३, मेक्सिकोमा ३८ हजार ८ सय ८८ र इटलीमा ३५ हजार ४२ जनाले जीवन गुमाएका छन् ।
अमेरिकामा सङ्क्रमितको सङ्ख्या ३८ लाख ३३ हजार ५ सय ९७ पुगेको छ भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ८ सय ८५ नयाँ सङ्क्रमित थपिएका छन् ।