काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको चुनाव चिह्न रुखबाट निर्वाचित भएर अर्को दलको गतिविधिमा संलग्न भएका जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा रहेका जनप्रतिनिधिलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् । पार्टीको निर्णय र विधान नमान्ने व्यक्तिले कांग्रेसको चुनाव चिह्नबाट प्राप्त पदमा रहिरहन नमिल्ने उनको भनाइ थियो ।
कांग्रेसको विधानअनुसार पार्टीको चुनाव चिह्नबाट निर्वाचित व्यक्ति अर्को दलमा प्रवेश गरेमा पार्टी सदस्यता कायम नरहने उल्लेख गर्दै उनले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित त्यस्ता जनप्रतिनिधिलाई राजीनामा दिन आग्रह गरे । राजीनामा नदिए विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।
‘तपाईंले कांग्रेसको सदस्यता छाडेर अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने कृपया कांग्रेसको अहिले भएको पदबाट राजीनामा गर्नुहोला,’ थापाले भने, ‘राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, गर्छ ।’
पार्टीको विधान कार्यान्वयन गराउनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै उनले कसैलाई व्यक्तिगत रूपमा पार्टीबाट निष्कासन गर्ने उद्देश्य नभएको स्पष्ट पारे । कांग्रेसको एउटै मात्र महाधिवेशन हुने भन्दै उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र त्यसपछि सम्पन्न नियमित महाधिवेशनलाई लिएर अन्योलमा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
महाधिवेशन र पार्टी नेतृत्वसम्बन्धी विवादलाई अदालतमा विचाराधीन संसद् पुनःस्थापनासम्बन्धी मुद्दासँग जोड्दै थापाले संसद् पुनःस्थापना हुनेमा विश्वास नगर्नेहरूले कांग्रेसको महाधिवेशनसम्बन्धी विवादमा पनि अन्योलमा पर्न नहुने बताए ।
महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएका वा जिम्मेवारी नपाएका नेताहरू अन्यत्र जाने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले सभापति भएपछि सबैलाई मिलाएर अघि बढ्ने प्रयास गरिरहेको पनि बताए ।