काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
योसँगै सुदूरपश्चिम प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि साविक विजेता लुम्बिनी लायन्सले प्लेअफमा स्थान पक्का गरिसकेको छ। यद्यपि, सुदूरपश्चिमले अब अन्य टोलीको नतिजा कुर्नुपर्नेछ।
१२६ रनको लक्ष्य पछ्याएको काठमान्डु ११८ रनमै सीमित
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रनमा समेटियो।
काठमान्डुका लागि राशिद खानले अविजित ३५ रन बनाए। दुशान हेमन्तले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने फाबियन एलेन, स्कट कुगलेइन र हेमन्त धामीले समान एक विकेट हात पारे।
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले बनायो १२५ रन
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो। ओपनर स्कट कुगलेइन ६ रनमा आउट हुँदा विनोद भण्डारीले एक रनमात्र जोड्न सके। त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता नै नखोली पभेलियन फर्किए। दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट गरेका थिए।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे। तर, शेख रनआउट भएपछि सुदूरपश्चिम फेरि दबाबमा परेको थियो। उनले २५ बलमा १६ रन बनाए।
कप्तान ऐरीले ६० रनको अर्धशतकीय पारी खेले। त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रन जोडे।
काठमान्डुका जहानदाद खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे।