काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । अंक तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यसहित काठमान्डु र सुदूरपश्चिम मैदानमा उत्रनेछन् ।
हाल ९ अंकसहित लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा छ । समान ८ अंक जोडेको काठमान्डु दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छन् । सुदूरपश्चिमका लागि समूह चरणको यो अन्तिम खेल हो भने काठमान्डुले अझै एक खेल खेल्न बाँकी छ ।
प्रतियोगिताको सुरुवाती चरणमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेका दुवै टोलीले पछिल्ला खेलमा उत्कृष्ट पुनरागमन गर्दै आफूलाई उपाधि दाबेदारका रूपमा उभ्याएका छन् ।
आजै बेलुकी ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
५ अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेको चितवनका लागि जित निकै महत्त्वपूर्ण छ । यता, जनकपुर बोल्ट्सको भने प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।