काठमाडौँ । सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सोमबारसमेत सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुरु गरिएको पूजा भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार यससँगै छठ पर्वका अवसरमा कात्तिक २९ र ३० गते गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।