काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइनले ६ रन बनाउँदा विनोद भण्डारीले १ रनमात्रै जोड्न सके । त्यसपछि क्रिजमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता नै खोल्न सकेनन् । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट गरे ।
पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर, शेख रनआउट भएपछि सुदूरपश्चिम थप दबाबमा परेको थियो । उनले २५ बलमा १६ रन बनाए ।
कप्तान ऐरीले भने उत्कृष्ट ब्याटिङ गर्दै ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए ।
काठमान्डुका लागि जहानदाद खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे ।